प्राककथनः
मानिस एक सामाजिक प्राणी हो । समाजमै जन्मने, हुर्कने र आफ्नो सम्पूर्ण जीवनको अध्याय नै व्यतित गर्ने हुँदा पनि मानिसको सिकाइ प्रकृया सामाजिक व्यवहार एवम् वातावरणबाट प्रभावित हुने गर्दछ । सिक्न, जान्न र ज्ञान आर्जन गर्न जिज्ञासु बन्नु नै उत्प्रेरणा हो । शिक्षा मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्म चलिरहने प्रकृया भए पनि शिक्षा आर्जन गर्न व्यक्ति तयार हुनु अर्थात् जिज्ञासु बन्नु सिकाइ प्रकृयाको लागि अति आवश्यक सर्त हो, जसलाई विभिन्न तत्वहरुले प्रभाव पारिहेका हुन्छन् । अतः जबसम्म विद्यार्थीमा जान्न र सिक्नखोज्ने चाहनामा वृद्धि हुनसक्दैन, तबसम्म सिकाइ प्रकृया प्रभावकारी बन्न सक्दैन । त्यसैले सिकाइ प्रकृयमा उत्प्रेरणाको निकै ठूलो महत्व रहन्छ । यस आलेखमा उत्प्रेरणाबारे सामान्य जानकारी र कक्षा–कोठामा प्रयोग हुनसक्ने उत्प्रेरकहरुका बारेमा चिरफार गर्ने प्रयास गरिएको छ ।
उत्प्रेरणा
उत्प्रेरणा, प्रेरणा अथवा अभिप्रेरणालाई अङ्ग्रेजीमा \”motivation\” भनिन्छ । यो शब्द ल्याटिन शब्द movere बाट उत्पत्ति भएको हो, जसको अर्थ हुन्छ– हिड्नु to moveअथवा क्रियाशील हुनु to activate । अर्थात् उत्प्रेरणा एक यस्तो आन्तरिक शक्ति हो, जसले कुनै व्यक्तिमा क्रिया उत्पन्न गर्दछ र उद्देश्य प्राप्त नभएसम्म निरन्तर त्यस क्रियालाई एउटा निश्चित दिशामा जारी राख्दछ । अर्काे शब्दमा प्रेरणा भनेको व्यक्तिको क्रियाकलापको शक्ति बढाउने वा घटाउने तत्व हो । यसलाई विभिन्न विद्वानहरुले विभिन्न किसिमले परिभाषित गरेका छन् ।
“प्रेरणा एउटा प्रक्रिया हो, जसबाट कुनै कार्य सुरु गर्ने, जारी राख्ने र नियमित कार्य गर्ने हुन्छ ।” –गुड Good
“अभिप्रेरणा एउटा निर्धारक तत्व हो, जसबाट कुन व्यक्तिले सिकाइ कति राम्रोसँग कति समयसम्म गर्न सक्दछ भन्ने पत्ता लाग्दछ ।”– मरसेल (Mursell)
“मानिसहरुले समस्त कामहरु एकप्रकारको शक्तिबाट गर्दछन् । त्यो शक्तिबाट कुनै कार्य गर्न उसको विचारमा गति ल्याउँछ । त्यो गति तीब्र भएमा यसबाट मानिसको सिक्ने प्रयासमा प्रेरणा मिल्दछ ।”
– थोमस हब्स (Thomas Hobbes)
मथिका परिभाषाहरुबाट पनि प्रष्ट भइसकेको छ कि उत्प्रेरणा भन्नाले त्यस्तो क्रियाशील वा प्रेरक तत्व हो, जसले व्यक्तिलाई कुनै कार्य गर्नका लागि उत्साही गर्ने र उद्देश्य प्राप्ती नहुँदासम्म दृढताका साथ लागिपर्नमा मद्दत गर्दछ । विना उत्प्रेरणा क्षमतावान विद्यार्थीले पनि सफलतापूर्वक सिकाइ पूरा गर्न सक्दैन । वास्तवमा उत्प्रेरणा एक यस्तो शक्ति हो, जसले विद्यार्थीलाई सिकाइ प्रकृयामा दिशानिर्देश दिनेगर्दछ । निरन्तरता यसको विशेषता हो । किनभने एउटा उत्प्रेरणा पूरा भएपछि अर्काे उत्प्रेरकको सुरुवात भैहाल्दछ । तसर्थ उत्प्रेरणाका विशेषतालाई निम्न चित्रबाट देखाउन सकिन्छ ।
उत्प्रेरणाले सिकाइ प्रक्रियामा शक्ति प्रदान गर्दछ । यसले सिकाइमा निश्चित दिशा प्रदान गर्नुका साथै सिकाइलाई प्रभावकारी सेमत गराउँदछ । उत्प्रेरणाले निरन्तर सिकाइ कार्यमा लागिरहन महत्वपूर्ण योगदान गर्ने हुँदा आधुनिक शिक्षा पद्धतिमा यसको महत्व र प्रयोग दिनप्रतिदिन बढ्दै गइरहेको छ । अतः शक्ति, दिशा र निरन्तरता उत्प्रेरणाका विशेषताहरु हुन् ।
मानिसका आवश्यकताहरु असीमित र अनन्त छन् । मानव सृष्टि भएदेखि नै आवश्यकताहरुको उत्पन्न हुँदै आएको हो । यस्ता आवश्यकताहरु पूरा गर्न मानिसले अनेक प्रयासहरु गर्दै आएको छ । मानिसका ती प्रयासहरुलाई विभिन्न चिज, वस्तु तथा तत्वहरुले उत्प्रेरणाको काम गर्दै आएका छन् । उत्प्रेरणालाई जन्मजात एवम् आर्जित, व्यक्तिगत तथा सामाजिक र आन्तरिक एवम् बाह्य गरी विभिन्न किसिमले वर्गिकरण गर्नसकिन्छ । शिक्षणसिकाइ कार्यमा उत्प्रेरणालाई ध्यानमा राखेर विभिन्न शिक्षा मनोवैज्ञानिकहरुले सबै प्रकारका उत्प्रेरणाहरुलाई आन्तरिक एवम् बाह्य गरी गरी दुई भागमा वाँडेका छन् ।
कक्षाकोठामा प्रयोग हुने उत्प्रेरकहरु
विद्यार्थीहरुमा ज्ञान तथा सिपको विकास गराउनका लागि कक्षा शिक्षण प्रभावकारी हुनु जरुरी हुन्छ । यसको लागि विद्यार्थीहरुलाई विभिन्न किसिमका उत्प्रेरणहरुको प्रयोग गरी विषयवस्तु तथा सिकाइ क्रियाकलापमा सक्रियरुपमा समावेश गराउनु पर्दछ । वास्तवमा उत्प्रेरणाले पानी प्युन लगाउने होइनकि विद्यार्थीमा ज्ञानको प्यास सिर्जना गराउँदछ । त्यसैले गर्दा विद्यार्थीहरु आफै सक्रिय हुन्छन् र कक्षा शिक्षण प्रभावकारी बन्दछ । उत्प्रेरणाले निश्चित उद्देश्य प्राप्तीका लागि विद्यार्थीहरुमा उर्जा एवम् सक्रियतामा वृद्धि गर्दछ । अर्काे शब्दमा उत्प्रेरणा एक यस्तो तत्व हो, जसले विद्यार्थीहरुमा रुची, उत्सुकता, तथा ज्ञान प्राप्त गर्न स्वतःस्फूर्तरुपमा दिशानिर्देश दिने कार्य गर्दछ । त्यसैले लक्षित उद्देश्य प्राप्तीका लागि कक्षाकोठामा उत्प्रेरणाको ठूलो महत्व रहन्छ । उत्प्रेरणाबिनाको शिक्षणकार्य प्रभावहीन, पट्यारिलो र लादिएको हुन्छ । यसबाट विद्यार्थीमा सकारात्मक परिवर्तनभन्दा पनि सिकाइप्रति उल्टो नकारात्मक विचार उत्पन्न गराउँदछ । यही कारणले गर्दा एक अशल एवम् कुशल शिक्षकले जहिले पनि कक्षाकोठामा शिक्षण कार्य गर्दा विभिन्न किसिमका उत्प्रेरणाहरुको निरन्तर प्रयोग गर्नु जरुरी हुन्छ ।
कक्षा शिक्षणमा विभिन्न किसिमका उत्प्रेरकहरुको प्रयोग हुने गर्दछ । सामान्यतया एक प्रभावकारी कक्षा शिक्षणमा प्रयोग हुने उत्प्रेकहरुलाई निम्न लिखित रुपमा प्रस्तुत गर्नसकिन्छ ।
१) आवश्यकताबोध (Feeling of Need)
शिक्षकले कक्षा शिक्षण गराउँदा जहिले पनि विद्यार्थीमा विषयवस्तुको ज्ञानको आवश्यकताबोध गराउँनु पर्दछ । यो विषय जीवनमा निकै महत्वपूर्ण छ, यो कुरा सबैले जान्नै पर्दछ भन्ने कुराको बोध गराउनु नै उत्प्रेरणाको लागि आवश्यकताबोध हो । कक्षाकोठामा शिक्षकले यो परीक्षाका लागि अति आवश्यक छ । परीक्षामा धेरै पटक सोधिएको छ भन्नेजस्ता कुराहरु गरेर विद्यार्थीहरुलाई विषयवस्तुको ज्ञानको आवश्यकताबोध गराउन सकिन्छ । यसो भयो भने विद्यार्थीहरु सिकाइ प्रक्रियामा उत्प्रेरित हुन्छन् र परिणामस्वरुम सिकाइ प्रकृया फलदायी बन्न पुग्दछ ।
२) रुचि (Interest)
कक्षामा अध्यापन गर्ने विषयमा विद्यार्थीको रुचि बढाउनसकियो भने शिक्षणकार्य अत्यन्त सरल बन्नजान्छ र प्रभावकारी पनि हुन्छ । भनिन्छ विद्यार्थी एक यस्तो किताब हो, जसको पन्नापन्ना शिक्षकले पढ्नु पर्दछ । अर्थात्, शिक्षकले जहिले पनि कक्षा शिक्षण गर्दा विद्यार्थीहरुको मनोविज्ञान, उनीहरुको रुचि आदिको बारेमा हेक्का राख्नु पर्दछ । त्यसैले शिक्षकले कक्षाकोठामा शिक्षण कार्य गर्दा पढाउने पाठलाई आफ्नो सीप, कलाकौशलता तथा हाउभाउ आदिको प्रयोग गरी विद्यार्थीहरुमा रुचि जाग्रित गराउनु पर्दछ । यसबाट शिक्षणकार्य प्रभावकारी बन्दछ । यही कारणले गर्दा रुचिलाई उत्प्रेरणाको एक प्रमुख तत्व मानिएको हो ।
३) उद्देश्य उन्मुख (Goal oriented)
उद्देश्यले रणनीति तय गर्न मद्दत गर्दछ । अर्थात् विद्यार्थीहरुमा उद्देश्यको अभिमुखिकरण गर्न सकिएमा उनीहरु सिकाइ प्रकृयामा उत्साहित हुन्छन् । यसको लागि शिक्षले कक्षाकोठामा अभ्यापन गर्नुभन्दा पहिले पाठको उद्देश्य बताउनु जरुरी हुन्छ । त्यसैले सबैभन्दा पहिले शिक्षक उद्देश्यबारे स्पष्ट हुनु पर्दछ र विद्यार्थीहरुलाई पनि उद्देश्यबारे स्पष्ट पार्नु पर्दछ । यसले गर्दा प्रभावकारी कक्षाशिक्षणका निम्ति विद्यार्थीहरुमा उत्प्रेरणा जगाउन मद्दत पुग्दछ ।
४) प्रतिस्पर्धा (Competition)
प्रतिस्पर्धाको भावनाले विद्यार्थीहरुमा विभिन्न क्रियाकलापहरु सफलरुपमा गर्नका लागि उत्प्रेरणा प्रदान गर्दछ । यसले प्रभावकारी सिकाइ गर्नको लागि उत्प्रेरित गर्ने र यसबाट विद्यार्थीहरु बढी सक्रिय भएर अध्ययन गर्ने हुँदा जहिले पनि शिक्षकले कक्षाकोठामा विद्यार्थीहरुका बीच स्वच्छ प्रतिस्पर्धात्मक भावनाको विकास गराउनु पर्दछ । विद्यार्थीहरुमा प्रतिस्पर्धात्मक भावनाको विकास गराउनसके उनीहरु सिकाइकार्यमा कोभन्दा कोकम भन्ने भावनाका साथ रुचिपूर्ण तरिकाले उत्प्रेरित हुन्छन् ।
५) उत्सुकता (Curiosity)
कुनै पनि नयाँ ज्ञान, सीप, धारणा सिक्नका लागि व्यक्तिलाई आन्तरिक रुपमा जागरुक बनाउनु नै उत्सुकता हो । यो एक आन्तरिक उत्प्रेरक हो । यसले गर्दा कक्षाकोठामा विद्यार्थीलाई सिकौँ–सिकौँ, जानौँ–जानौँ भन्ने भावनात्मक सञ्चार पैदा गर्दछ । त्यसैले जहिले पनि कक्षाकोठामा शिक्षकले शिक्षणकार्य गर्दा प्रोत्साहन गर्ने, उत्साह जगाउने, पुरस्कार दिने जस्ता भूमिका खेल्नु पर्दछ । विद्यार्थीहरुमा शिक्षकले यस्तो छाप छोड्नु पर्दछ ताकि शिक्षक कक्षाकोठामा प्रेवेश गर्नेवित्तिकै विद्यार्थीहरुमा अब यो शिक्षकले के पढाउनुहुन्छ ? के बोल्नुहुन्छ ? भन्ने उतसुकता जागोस् ।
६) खोज (Innovation)
विद्यार्थीहरुमा सम्बन्धित विषयमा खोज तथा अनुसन्धान गर्नमा उत्प्रेरित गरेर पनि सिकाइ प्रकृयालाई प्रभावकारी गराउनसकिन्छ । यसको लागि विद्यार्थीमा विषयवस्तुको व्यवहारात्मक पक्ष तथा अनुसन्धानका पक्षहरुको ज्ञान दिनु पर्दछ । यदि विद्यार्थीहरुमा खोज एवम् अनुसन्धनको भावना जागृत गराउनसकिएमा विद्यार्थीहरु सिक्न आतुर हुन्छन् । यसले कक्षाशिक्षणमा उत्प्रेरणाको काम गर्दछ । त्यसैले जहिले पनि शिक्षकले केवल सिद्धान्तलाई घोक्ने र कण्ठ गराउनेभन्दा पनि विषयवस्तुका नयाँ तथा व्यवहारिक पक्षहरुको खोज तथा अनुसन्धानतिर आकर्षित गराउनु पर्दछ ।
७) परिणाम र नतिजाको ज्ञान (Knowledge of Consequences and result)
विद्यार्थीहरुलाई परिणाम तथा नतिजाको ज्ञान दिएर पनि अध्ययन कार्यलाई थप प्रोत्साहित गर्न सकिन्छ । यसको लागि विद्यार्थीलाई उनीहरुले प्राप्त गरेका उपलब्धिहरुको जानकारी दिएर थप उत्प्रेरणा प्रदान गर्न सकिन्छ । एकातिर राम्रा विद्यार्थीहरुलाई यसले अझै राम्रो कसरी गर्ने ? कसरी अझै प्रभावकारीरुपले ज्ञान, सीप तथा धारणा सिक्ने भन्ने कुरामा उत्प्रेरणा प्रदान गर्दछ भने अर्काेतिर कमजोर विद्यार्थीहरुलाई आफ्नो कमजोरीका बारेमा जानकारी दिई सो कमजोरीमा सुधार गर्नका लागि उत्प्रेरणा प्राप्त हुन्छ । त्यसैले कक्षाकोठामा अध्यापन गर्दा विद्यार्थीहरुमा बेलाबेलामा उनीहरुको सिकाई परिणाम अथवा नतिजाको ज्ञान दिनु पर्दछ ।
यसबाहेक पनि कक्षाकोठामा समय र आवश्यकताअनुसार प्रशंसा र दोष, सहयोगी भावनाको विकास आदिका मद्दतबाट पनि उत्प्रेरणा सिर्जना गर्न सकिन्छ । वास्तवमा उत्प्रेरणाविनाको सिकाइ पट्यारिलो र प्रभावशून्य हुने हुँदा कक्षा शिक्षण गर्दा एक शिक्षकले समय, परिस्थिति तथा वातावरण एवम् आवश्यकता हेरी विभिन्न उत्प्रेरकहरुको प्रयोग गर्नु जरुरी हुन्छ ।
ecosuraj@gmail.com
सुरज घिमिरे (लेखक नेपाल बैंक पाल्पा शाखाका निवर्तमान शाखा प्रबन्धक हो भने हाम्रो अभिभावक पनि)