
आधुनिक नेपाली कथा साहित्यका अग्रणि व्यक्तित्व कथाकार गुरूप्रसाद मैनाली (वि.सं. १९५७–२०२८) द्वारा रचना गरिएको नासो कथाले नेपाली कथा साहित्यलाई आधुनिक कालमा प्रवेश गराएको थियो । १९९२ सालमा प्रकाशित शारदा पत्रिकामा नासो कथा प्रकाशन भएपछि नेपाली कथा आधुनिककाल सामाजिक यथार्थवादको सामाजिक विषयवस्तु सँगै श्रीगणेश भएको थियो । नासो कथा संग्रहमा संकलित
छिमेकी, सहिद, परालको आगो, अभागी, कर्तव्य, नासो आदि जस्ता एघार वटा कथा मध्ये प्रत्यागमन नामक कथा पनि नेपाली समाजको एउटा यथार्थपरक घटनालाई सचित्र वर्णन गर्न सफल कथाका रूपमा देखा पर्दछ । आदर्शोन्मुख यथार्थवादी कथाकारका रूपमा परिचित भएका कारणले कथामा आएका पात्रहरू मध्ये मैनालीले एक न एक पात्रलाई आदर्श पात्रका रूपमा उपस्थित गराउनु उनको मूल वैशिष्ठ्य हो । उनका कथाहरूको प्रतिनिधि कथा प्रत्यागमन नामक कथालाई समाजसापेक्ष अध्ययन र विश्लेषणको विषय बनाइएको छ । यस कथामा आएका मुख्य पात्रहरू शोभा र निर्मल चन्द्रलाई आदर्शवादी पात्रका रूपमा देखाइएको छ भने रामुलाई शिक्षित भए पनि सही निर्देशन गर्न नसकेको पात्रका रूपमा देखिन्छ । आफ्नी श्रीमतीको अव्यावहारिक तथा परिस्थितिअनुसार चल्न नसक्ने स्वभावका कारणले रामुलाई अस्थिर र ढुलमुले चरित्रका रूपमा देखाएको छ अथवा यो कथा नितान्त पारिवारिक विषय वस्तुमा आधारित कथा हो भन्न सकिन्छ ।
पारिवारिक विषयवस्तुमा आधारित भए पनि नेपाली समाजका समस्याहरूलाई प्रत्यागमन कथाले उजागर गरेको छ । कथामा परिवारका सदस्य बीच सधैँ मेलमिलाप र सद्भावको कामना गरिएको छ । धनसम्पति र कुल घरानाको धाक र रवाफ नदेखाई मानिसमा सोच र व्यवहारलाई सदा सकारात्मक बनाउन आग्रह गरिएको छ । प्रत्यागमनको अर्थ हुन्छ फर्केर आउने काम भन्ने बुझिन्छ । शोभा, निर्मल र रामु मुख्यपात्र रहेको यस कथामा रामुलाई शोभाको सौतेनी देवरका रूपमा कथामा उभ्याइएको छ तथापि शोभाले छोरालाई झैँ माया गरेको देखिन्छ । भाउजू भए पनि अक्षुण्ण, अटुट माया र मातृत्व प्रदान गरिरहेकी छिन् । मातापिताविहीन बालक रामुका लागि शोभा र निर्मल मातापिताको भूमिका निर्वाह गरिरहेका छन् । टुहुरो शिशु रामुलाई लालन पालन तथा पढाइ लेखाइ गराएर शोभा र निर्मले दायित्व पूरा गरेका छन् । धनकी अधिष्ठात्री देवी लक्ष्मीले निर्मललाई उपेक्षा गरे पनि शोभा जस्ती पतिपरायण पत्नी पाएकामा निर्मल औधि खुसी छन् । जसमा शोभालाई एउटी असल र आदर्श नारी पात्रका रूपमा देखाइएको छ । सोही घरमा रामुकी श्रीमतीका रूपमा भित्रिएकी दुलही बज्यैलाई कथाकी असत् वाखल पात्रका रूपमावा सुन्दर घर भाँड्ने कलुषित विचारको थुप्रो भएकी खराब आचरणयुक्त नारीपात्रका रूपमा देखाइएको छ । रामु चाहिँ दाजुभाउजूको पालनपोषण र शिक्षादीक्षामा विज्ञान विषयमा स्नातकोत्तर गरेर प्रोफेसरसम्म बन्न सफल भएको छ तथापि उनको सफलताको श्रेय निर्मल र शोभालाई नै जान्छ । कथामा वर्णन गरिएकी दुलही बज्यैको सबै क्रियाकलापहरू हाम्रो यस समाजमा भेटिने तमाम् पात्रहरूमा भेटिने प्रवृत्ति हो । समाजका वास्तविक पात्रहरू प्रतिनिधि पात्रका रूपमा कथामा मैनालीले उपस्थित गराएका छन् । घरमा भित्रिएपछि भए नभएका कुराहरू गर्ने, माइतीको धाक लगाउने, घरको कुनै काममा सहयोग नगर्ने, पारिवारिक जिम्मेवारी बहन नगर्ने, देउरानीले जेठाजु र जेठानीप्रति आदर सत्कार नगर्ने, जेठाजुका छोराछोरीलाई हेला गर्ने, श्रीमान्ले श्रीमतीका कुराहरू हुबहु सुन्ने, परिवारको अवस्था नबुझी अलग्गै बस्ने क्रूर निर्णय लिने जस्ता सन्दर्भहरू हाम्रा सामाजिक यथार्थपरक विषयवस्तुहरू हुन् ।
रामुका दाजुभाउजूको आर्थिक अवस्था निकै कमजोर थियो । रामुले कमाई गर्न थाले पछिमात्र त्यस घरमा सुखले सुटुक्क वास गरेको थियो र बल्ल राहत मिलेको थियो । शोभाको त्याग र निर्मलको मिहिनेतले रामुप्रति गरेको असल व्यवहार टोल छिमेकभरि प्रशंसा भएको देखिन्छ तर रामुको विवाहपछि भित्रिएकी दुलही बज्यैको गैरजिम्मेवारीका कारणले सुन्दर घरको अवस्थामा पुनरागमन भएको देखिन्छ । पारिवारिक वातावरण तनावयुक्त र पीडादायी भएको छ । निर्मलका हरि र वसुधा जस्ता निर्दोष बालबालिकाको पोषणमा समेत अभाव देखिन्छ । अन्ततः दुलहीबज्यै र रामुको अदूरदर्शीताका कारणले एकापसमा छुट्टिएर अलग्गै बस्नुपर्ने बाध्यता सिर्जना भयो । छुट्टिएर अलग्गै बस्दा पनि दुलही बज्यैको अव्यावहारिक क्रियाकलापले रामु र आफ्नो भर्खरै जन्मिएको बालकको अवस्था पनि दुखद् र कारूणिक देखिन्छ । सिकिस्त भएको आफ्नो पति रामुलाई त्यत्तिकै छोडेर माइती आमासित दक्षिणकाली दर्शन गर्न गएको प्रसङ्ग बडो कारूणिक लाग्दछ । बिरामी पति र सानो बालक छोरोलाई घरमा छाडेर गैरजिम्मेवार भई माइत जानुले उनमा अहङ्कारको थुप्रो भएको देखिन्छ । रामु बिरामी भएको जानकारी पाएपछि शोभाले गरेको आदर्श अभिभावकीय धर्म स्मरणीय रहेको छ । शोभाको स्याहार, सुश्रुषा र नियमित पथ्य कुरा पाएपछि रामुलाई दिन प्रतिदिन जाती भएको छ । उपचारमा आएको चिकित्सकलाई उहाँ ‘मेरी आमा’ भनेर परिचित गराउनुलाई रामुको गरेको गल्तीको प्रायश्चित मान्न सकिन्छ । अन्ततः रामुले डेरा छोडी घर फर्किनुलाई कथाकारले प्रत्यागमन शीर्षक राखेर सार्थकता दिन खोजेको पाइन्छ । जतिसुकै सम्पन्न भए पनि पारिवारिक बेमेल, बेवास्ता, आडम्बर आदिले मानिसलाई बिगार्छ । श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर भएन र विश्वासको महल भताभुङ्ग भयो भने परिवारको दुर्दशा हुने कुरालाई कथामा बडो रोचक, मार्मिक र घोचक शैलीमा प्रस्तुत गरिएको छ ।
अन्ततः कथाकार मैनालीले सामाजिक जनजीवनका वास्तविकताहरूलाई कथाको माला उन्ने क्रममा प्रत्यागमन कथा र सजीव पात्रहरूको उपस्थिति रहेको छ । कथाले परिवारका सदस्यहरूबीच सधैँ मेलमिलाप र सद्भाव कायम हुनुपर्ने र सानोतिनो कुरामा विवाद हुँदा फराकिलो हृदय पारेर समस्या समाधान गर्नुपर्ने आग्रह कथाकारको रहेको छ । परिवारमा शान्ति, समृद्घि र समुन्नतिका लागि पारिवारिक मेलमिलाप, सद्भाव र असल पथ प्रदर्शनको जरूरी पर्ने कुरालाई कथाकार मैनालीले कथाको माध्यमबाट प्रस्तुत गरेकाछन् ।
-तुल्सीराम पोख्रेल